काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। यसअघि खम्बबहादुर खातीको नेतृत्वमा रहेको निर्वाचन समिति भंग गरी मंगलबार बिहान केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको थियो।
विशेष महाधिवेशनको बन्दसत्रभित्र नेतृत्व चयनको माग तीव्र बन्दै गएको छ। गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले वर्तमान नेतृत्वले विशेष महाधिवेशनको भावनालाई बेवास्ता गरेको आरोप लगाउँदै नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखे। कार्यकर्ता र जनताले कांग्रेसको नयाँ नेतृत्व खोजिरहेको भन्दै अब पार्टी नयाँ शिराबाट अघि बढ्नुपर्ने उनको जोड थियो।
शर्माले चुनावी गठबन्धन गरेर अरूको ‘वैशाखी’ टेक्दा कांग्रेसको प्रभाव घट्दै गएको टिप्पणी गर्दै जेनजी आन्दोलनका क्रममा भएका घटनाप्रति क्षमा माग्दै अब स्पष्ट मार्गचित्र तय गर्नुपर्ने बताए। उनले बन्दसत्रमै हिन्दू राष्ट्र कायम हुनुपर्ने माग पनि राखे।
बाँकेका सभापति नारायण पौडेलले देशले परिवर्तन खोजिरहेको भन्दै नेतृत्व चयन गरेर विशेष महाधिवेशन टुंग्याउनुपर्ने विचार व्यक्त गरे। लुम्बिनी प्रदेशबाट गुल्मीका सभापति खिलध्वज पन्थीले गगन थापा र विश्वप्रकाश शर्मालाई कार्यकर्ताले किन माग गरिरहेका छन् भन्ने कुरा सभापति शेरबहादुर देउवाले बुझ्नुपर्ने बताए।
महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि सुझाव दिँदै पन्थीले सिंहदरबारका कर्मचारीलाई सुशासनको पाठ पढाउनुपर्नेमा जोड दिए। ‘आज पहाडका गाउँहरू रित्तिँदै गएका छन्, युवालाई गाउँमै सीप र रोजगारी दिने खालको शिक्षाको व्यवस्था हुनुपर्छ,’ उनले भने।
पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै पारित गर्नुपर्ने धारणा राख्दै चुनावी गठबन्धन नगर्ने स्पष्ट नीति बनाउन र पार्टीभित्र आन्तरिक निर्वाचन समिति गठन गर्नुपर्ने सुझाव दिए।
गोरखाका सभापति नन्दु न्यौपानेले नेताको चयन काम र सहभागिताको आधारमा हुनुपर्ने बताए। पार्टीभित्र नीति र नेतृत्व दुवै परिवर्तनको माग किन उठिरहेको छ भन्ने प्रश्न उठाउँदै उनले भने, ‘विशेष महाधिवेशनले कांग्रेस फुटाउने होइन, जोड्ने काम गर्छ।’ बाहिर रहेका नेता–कार्यकर्तालाई समेट्न नेताहरूले दूरदृष्टि देखाउनुपर्ने उनको भनाइ थियो।
कास्कीका सभापति कृष्णदत्त बरालले विशेष महाधिवेशन नयाँ प्रस्तावसहित आएको उल्लेख गर्दै कांग्रेसको विगतको राजनीतिक अभ्यासलाई पुनः परिभाषित गर्न आवश्यक रहेको बताए। लोकतन्त्र सत्ता प्राप्तिको खेल मात्र नभई सिद्धान्त र मूल्यमा आधारित राजनीति हुनुपर्नेमा जोड दिँदै उनले कांग्रेसलाई आधुनिक, समावेशी र लोकतान्त्रिक बनाउनुपर्ने धारणा राखे।
मधेशबाट सहभागी नेतृ मुक्ता यादवले नीति र नेतृत्व दुवै परिवर्तनमा जोड दिँदै भावी प्रधानमन्त्रीका रूपमा गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने विचार व्यक्त गरिन्। ‘अबकि बार, गगन सरकार’ नारासहित चुनावमा जानुपर्ने उनको भनाइ थियो।
बागमती प्रदेशकी सीता मिजारले महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा सुझाव दिँदै संघ र प्रदेशमा कति पटक मन्त्री वा सांसद हुन पाउने भन्ने व्यवस्था स्पष्ट गर्नुपर्ने बताइन्। साथै, महामन्त्री गगन थापाको प्रतिवेदनको ९ (क) र (ग) मा दलितसम्बन्धी व्यवस्था छुटेकाले समावेश गर्न माग गरिन्।
कर्णालीका प्रतिनिधि हर्ष बमले ‘जसको नीति, उसैको नेतृत्व’ हुनुपर्ने धारणा राख्दै बन्दसत्रबाटै नेतृत्व चयन गर्नुपर्ने सुझाव दिए। वार्ता र संवादका नाममा बन्द कोठामा षड्यन्त्र हुनसक्ने भन्दै सतर्क रहनुपर्ने चेतावनीसमेत उनले दिए।
मधेशका प्रतिनिधि वीरेन्द्र साहले संघीय बजेट जनसंख्याको आधारमा बाँडफाँट हुनुपर्ने बताए। प्रदेशमा क्लस्टरको आधारमा निर्वाचन प्रणाली लागू गर्नुपर्ने, पार्टीबाट मन्त्री बनेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र कारबाहीमा परेकालाई कम्तीमा एक वर्ष निलम्बनमा राख्नुपर्ने सुझाव पनि उनले राखे।




















