काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै पौडेलले बाध्यात्मक परिस्थितिमा आयोजना गरिएको विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई परिवर्तन, एकता र सबलताको दिशामा अघि बढाउने बताएका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना भएपछि संस्थापन पक्षले यसलाई अवैधानिक भन्दै आएको छ। तर विशेष महाधिवेशन पक्षधरहरूले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन भइरहेको दाबी गर्दै आएका छन्।
दुवै पक्षले आ–आफ्नो अडान कायम राखेपछि सहमतिका लागि मध्यमार्गी बाटो खोज्ने प्रयासस्वरूप हाल बालुवाटारमा वार्ता जारी छ।
वार्ता जारी रहेकै क्रममा नेता पौडेलले एक्समा लेखेका छन्, ‘बाध्यात्मक परिस्थितिले सिर्जना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ। हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं।’
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्। सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण तथा शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल सहभागी छन्।



















