काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । यसअघि बिहान ११ बजेका लागि तय गरिएको बैठक समय परिवर्तन गरी दिउँसो १ बजेका लागि सारिएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकाले कांग्रेसभित्र विवाद चर्किँदै गएको छ। यसैबीच, विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने घोषणा गरेका छन्।
विवाद समाधानका लागि हाल बालुवाटारमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता भइरहेको छ। वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण सहभागी छन्। शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल उपस्थित छन् भने विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।
संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई अवैधानिक बताइरहेका छन् भने विशेष महाधिवेशन पक्षधरहरूले नेतृत्व र नीतिगत निर्णयसहित अघि बढ्ने अडान दोहोर्याएका छन्।



















