काठमाडौँ । विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि वार्ता सुरु भएको छ। बिहान साढे ८ बजेदेखि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच लाजिम्पाटमा छलफल भइरहेको छ ।
वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण सहभागी छन्। शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल उपस्थित छन् भने विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।
यसअघि विशेष महाधिवेशन गराइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग संवाद गर्न चार सदस्यीय वार्ता समिति गठन गरेका थिए।
विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि चार प्रमुख शर्त अघि सारेका छन्। उनीहरूले विशेष महाधिवेशनबाट पारित नीतिगत विषयको स्वामित्व पार्टीले लिनुपर्ने, आसन्न निर्वाचनमा वितरण हुने टिकटमा कार्यवाहक सभापतिको हस्ताक्षरको व्यवस्था गर्नुपर्ने, आगामी निर्वाचनमा महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नुपर्ने तथा टिकट वितरणमा आफ्नो पक्षलाई ४० प्रतिशत हिस्सा सुनिश्चित गर्दै पार्टीभित्र शक्ति सन्तुलनको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन्।



















