काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल प्रभाव पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै पार्टीभित्र देखिएको असहज अवस्था अन्त्य गर्न सबै तहका नेता–कार्यकर्तालाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरेका हुन् ।
विज्ञप्तिमा खड्काले देशको वर्तमान विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्था समाप्त गर्न सबै एकजुट हुनुपर्ने उल्लेख गरेका छन्। “नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका पदाधिकारी तथा सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र सहयोगी सबै साथीहरू मिलेर पार्टीभित्रको असहज अवस्था समाप्त गर्न आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ।
यसैगरी उनले वर्तमान अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै सम्पूर्ण एकताका साथ पार्टीलाई अघि बढाउन आग्रह गरेका छन्।





















