काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै कांग्रेस नेता तथा कार्यकर्ताले समयअनुसार आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रस्ताव पेश गर्दै थापाले पार्टीभित्र आत्मसमीक्षा आवश्यक भए पनि आत्मनिन्दामा नफस्न आग्रह गरे। “आत्मसमीक्षा गरौँ, तर आत्मनिन्दा नगरौँ,” उनले भने।
थापाको राजनीतिक प्रस्ताव पेश हुनुअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। दुवै महामन्त्रीले विशेष परिस्थितिका कारण विशेष महाधिवेशन आयोजना गर्नुपरेको तर्क गरेका छन्।
बन्दसत्र जारी रहँदा पार्टीभित्र मतभेद चर्किएको देखिएको छ। संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशन रोक्ने प्रयासमा सक्रिय छन्। यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा पक्षका नेताहरूबीच छलफल भएको थियो।
छलफलपछि कार्यवाहक सभापतिले एकताका लागि आह्वान गर्ने निर्णय भएको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए। “विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्था देखिएको छ। सभापतिज्यूले हामीलाई बोलाएर छलफल गर्नुभयो र तत्काल एकताका लागि आह्वान गर्न निर्देशन दिनुभयो,” राठौरले भने।
यता पार्टीभित्र मध्यमार्गी नेताहरूले हिजोदेखि नै तीव्र छलफल अगाडि बढाइरहेका छन्। अर्का नेता शेखर कोइरालाले पनि आफ्ना पक्षका नेताहरूसँग छलफल गर्दै पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संवादमार्फत समाधान खोज्ने बताएका छन्।
बन्दसत्रमा राजनीतिक र साङ्गठनिक प्रस्तावमाथि छलफल जारी रहेको छ।




















