काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले आज दिउँसो गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै शुक्रबार दिउँसो गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराएका हुन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरू उपस्थित भएर पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा गर्ने भनिएको थियो । त्यहीअनुसार बिहीबार साँझ नै पत्रकारलाई खबर गरेका थिए ।
तर, नेता डा. शेखर कोइरालाले पत्रकार सम्मेलनले विभाजनलाई बल पुर्याउने भन्दै यो अडान राख्ने नभई वार्ता र संवादबाट समाधान खोज्नुपर्ने बेला भएकोले नआउने बताएपछि पत्रकार सम्मेलन नै स्थगित गरिएको स्रोतले बताएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस विभाजनको डिलमा छ । संस्थापन पक्षले विशेष महाधिवेशन बोलाउने अधिकार पदाधिकारीलाई नभएको स्पष्ट पार्दै कसैलाई पनि त्यस्तो कार्यक्रम नगर्न/नगराउन र उपस्थित नहुन आग्रह गरेको छ । तर विशेष महाधिवेशन पक्षधरले भने भृकुटीमण्डपमा मञ्च निर्माणदेखि सिगारपटार थालेका छन् ।




















