काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने भएको छ। सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि यस्तो निर्णय गरिएको हो।
सभापति देउवासँगको छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार भेला शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा हुनेछ। भेलामा संस्थापन पक्षका शीर्ष नेताहरूलाई भने आमन्त्रण नगरिएको उनले जानकारी दिए।
‘भोलि साढे १० बजे केन्द्रीय सदस्यहरू मात्र बस्छौं। शीर्ष नेताहरू कसैलाई पनि बोलाइएको छैन,’ ती नेताले भने, ‘संस्थापन पक्षबाट निर्वाचित २५ केन्द्रीय सदस्यको समूहलाई पनि बोलाएका छौं।’
यसअघि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले शीर्ष नेताहरूको सहभागितामा पटक–पटक भेला आयोजना गर्दै आएका थिए। उनीहरू निर्वाचनअघि महाधिवेशन हुन नहुने अडानमा रहँदै आएका छन्।
यसैबीच, संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्ने तयारीसमेत गरेको छ। २७ पुसका लागि तय गरिएको उक्त भेला बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा सुरू हुनेछ।
‘आम निर्वाचन, १५ औं महाधिवेशन र युवाको भूमिका’ विषयमा आयोजना हुने भेलाको संयोजन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले गर्नेछन्। संयुक्त भ्रातृ संगठनहरूलाई आयोजकका रूपमा राखिएको एक नेताले जानकारी दिएका छन्।




















