काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको विवादका बीच विशेष महाधिवेशन आह्वान गरिएको छ ।
विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेको हो ।
समितिले जारी गरेको विज्ञप्तिमा पार्टीले २०८२ पुस २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयमा महाधिवेशन हुन नसकेको उल्लेख गरिएको छ ।
‘१५औँ महाधिवेशन समयमै सम्पन्न हुन नसकेपछि हाम्रो मागअनुसार विशेष महाधिवेशन आह्वान गर्नु निर्विकल्प विकल्प बनेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विशेष महाधिवेशन पक्षधरहरूले बाध्यात्मक परिस्थितिका कारण विशेष महाधिवेशन आह्वान गरिएको स्पष्ट पारेका छन् । विधानको मर्म र भावनालाई पूर्ण रूपमा सम्मान गर्दै २०८२ पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुने विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।
विशेष महाधिवेशनका लागि सचिवालयले शान्ति सुरक्षा व्यवस्थाका विषयमा स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको जानकारी दिइएको छ । साथै महाधिवेशनका लागि भृकुटीमण्डप यसअघि नै बुकिङ गरिसकिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।
पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिसकिएको पनि जानकारी गराइएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । यता सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन सम्भव नहुने अडान लिएको छ ।




















