काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध योजनाबद्ध रूपमा घेराबन्दी भइरहेको आरोप लगाएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पछिल्लो समय नेपाली कांग्रेसले प्रक्रिया र विधानलाई बेवास्ता गर्दै अघि बढिरहेको गुनासो गरे। संख्याको दम्भ देखाउँदै केही नेताहरूले महामन्त्रीद्वयमाथि निरन्तर प्रहार गरिरहेको र सबै मिलेर कर्नर गर्ने प्रयास भइरहेको उनको भनाइ थियो।
उनले भने, ‘पछिल्लो समय पार्टीभित्र प्रक्रिया र विधानलाई बेवास्ता गर्ने क्रम बढेको छ। महामन्त्रीको रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका म र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई लक्षित गरेर घेराबन्दी गर्ने र हामीविरुद्ध सबै मिल्ने काम भइरहेको छ।’
थापाले पार्टी कार्यालयभित्रको घेरा सानो भए पनि पार्टीका आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको घेरा निकै ठूलो रहेको बताए। अन्ततः पार्टीको भविष्यबारे फैसला गर्ने शक्ति आम नागरिककै हातमा रहने उनको जिकिर थियो।
‘यहाँभित्र सबै मिलेर मलाई र विश्वप्रकाश शर्मालाई जति नै घेराबन्दी गरे पनि यो साँघुरो घेरा मात्रै हो,’ थापाले भने, ‘बाहिर पार्टीका समर्थक, शुभेच्छुक र आम कार्यकर्ताको ठूलो घेरा छ। तपाईंहरू हामीलाई सानो घेराबाट अझ ठूलो घेरातर्फ जान बाध्य पार्दै हुनुहुन्छ।’
संख्याको बलमा अहंकार देखाउँदै महामन्त्रीहरूलाई कमजोर बनाउने प्रयास भइरहेको निष्कर्ष थापाले सुनाए।




















