काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल गर्ने प्रयासबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ । यससँगै प्रमुख दलहरू मिलेर चुनाव लड्ने उद्देश्यले बनाउने भनिएको महागठबन्धन तत्कालका लागि असफल भएको छ ।
राष्ट्रिय सभाका १८ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेस र एमालेबीच भागबण्डा टुंगिएको छ । सहमतिअनुसार कांग्रेसले ९ जना र एमालेले ८ जना उम्मेदवार उठाउने निर्णय गरेका छन् । दुबै दलले आफ्ना उम्मेदवारसमेत छनोट गरिसकेका छन् ।
मधेश प्रदेशमा भने कांग्रेस–एमालेले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाई एक सिट दिने सहमति गरेका छन् । मधेशमा जसपा नेपाल तेस्रो ठूलो दल हो भने अन्य प्रदेशमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
दुई ठूला दलले भागबण्डा गरेर उम्मेदवारी दिएपछि नेपाली कम्युनिस्ट पार्टी महागठबन्धनबाट अलग भएको छ । नेकपाले एकल रूपमा सबै प्रदेशमा उम्मेदवारी दिने तयारी गरेको जनाएको छ ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । निर्वाचन माघ ११ गते नै हुनेछ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुख मतदाता हुन्छन् । सातै प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल १ हजार ५०६ जना मतदाता रहेका छन् ।
रिक्त १९ सिटमध्ये १८ सिटका लागि माघ ११ गते मतदान हुनेछ । मनोनित सदस्य वामदेव गौतमको स्थानमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ ।
कांग्रेसका उम्मेदवार
कांग्रेसले कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ।
एमालेका ८ उम्मेदवार
एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ ।
यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जसपाबाट ठाकुर उम्मेदवार
राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी (जसपा) नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)सँगको तालमेलमा ठाकुरलाई उम्मेदवार बनाउने निर्णय भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच पुस १४ मा एकता गर्ने निर्णय भएको थियो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार
कोसी – खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपाने, मधेस– रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल, बागमती – प्रेम प्रसाद सापकोटा, सरोज कुमारी झा , गण्डकी – कपिल लामा , लुम्बिनी – दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन बिक , कर्णाली – बुद्धिप्रसाद शर्मा, अन्जु महतरा , सुदूरपश्चिम – टीकाराम जैशी, रोजी बस्नेत सुनार
अंकगणितमा बलियो कांग्रेस–एमाले गठबन्धन
प्रदेशगत रूपमा हेर्दा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।
कांग्रेस र एमालेबीच अन्तर्घात नभएमा अधिकांश प्रदेशमा उनीहरूले सहज जित निकाल्ने अंकगणित देखिन्छ । मधेश प्रदेशमा तेस्रो शक्तिलाई समेत समेटिएकाले गठबन्धन अझ बलियो देखिएको छ ।
-
कोशी प्रदेश: एमाले (४२१०) र कांग्रेस (३७२२) को संयुक्त मतभार ७०२२ छ, जुन कुल १०१३५ मतभारको दुई तिहाइ हो । यहाँ नेकपाको मतभार १६२३ छ ।
-
मधेश प्रदेश: कांग्रेस (३१०४) र एमाले (२४०८) जोड्दा ५५१२ मतभार हुन्छ, जुन कुल १०८३९ को बहुमत हो । यहाँ नेकपा चौथो स्थानमा छ, मतभार १३४६ ।
-
बागमती प्रदेश: कांग्रेस (४०१३) र एमाले (२५७१) को योग ६५८४ छ । कुल मतभार १०३३५ हो । यहाँ नेकपा दोस्रो ठूलो दल हो, मतभार २७३८ ।
-
गण्डकी प्रदेश: कांग्रेस (२७०४) र एमाले (२४५८) मिल्दा ५१६२ पुग्छ, जुन कुल ६४१० को दुई तिहाइ हो । नेकपाको मतभार १०१३ छ ।
-
लुम्बिनी प्रदेश: कांग्रेस (३१७९) र एमाले (२८१०) को संयुक्त मतभार ५९८० छ । कुल मतभार ८७५३ हो । नेकपाको १३९६ मतभार छ ।
-
कर्णाली प्रदेश: कांग्रेस (१८६३) र एमाले (११९५) जोड्दा ३०५८ मतभार पुग्छ । कुल मतभार ५१२२ छ । यहाँ नेकपा दोस्रो स्थानमा छ, मतभार १८४४ ।
-
सुदूरपश्चिम प्रदेश: कांग्रेस (२५५८) र एमाले (१५३३) जोड्दा ४०९१ मतभार हुन्छ । कुल मतभार ६१५३ हो । नेकपाको मतभार १३६५ छ ।
अंकगणितीय हिसाबले हेर्दा कांग्रेस–एमाले गठबन्धन राष्ट्रिय सभा निर्वाचनमा बलियो देखिएको छ भने नेकपा एक्लै प्रतिस्पर्धामा उत्रने तयारीमा छ ।




















