काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक ठाउँमा जम्मा भइरहेका राजनीतिक दल र समूहहरूप्रति कडा टिप्पणी गरेका छन्।
मंगलबार बसेको पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले विकासको नाममा एनजीओ–डोनरको एजेन्डा बोकेर आउने र राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने उद्देश्यले विभिन्न दाग लागेका व्यक्तिहरू एक भएका आरोप लगाए।
ओलीले भने, “कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थका कारण ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न छन्। विकासको आवरणमा एनजीओ/डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ अक्षम र दाग लागेका व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ।”
यसै क्रममा उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनप्रति पनि टिप्पणी गर्दै उक्त आन्दोलनमा संलग्नहरूले देशलाई पुगेको क्षतिको जिम्मेवारी लिन नसकेको बताएका छन्।




















