काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नियमित महाधिवेशनको कार्यतालिका आइसकेपछि विशेष महाधिवेशन आवश्यक नरहेको स्पष्ट पारे।
गत मंसिरमा नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै विशेष महाधिवेशनको औचित्य सकिएको उनको भनाइ छ। ‘पर्सि विशेष महाधिवेशन हुँदैन। अब त्यसको कुनै औचित्य छैन,’ सिटौलाले भने।
क्रियाशील सदस्यता टुंगो नलागेकै कारण नियमित महाधिवेशनको प्रक्रिया पछाडि सरेको उनले स्पष्ट गरे। ‘जब सम्म क्रियाशील सदस्यता टुंगिँदैन, तबसम्म महाधिवेशनको कार्यक्रम अघि बढ्दैन,’ उनले भने।
चुनावअघि महाधिवेशन गर्न समय नहुने र वडादेखि केन्द्रसम्म आन्तरिक प्रतिस्पर्धा हुने भएकाले निर्वाचनअघि महाधिवेशन गर्नु उपयुक्त नहुने धारणा आफूले पहिलेदेखि राख्दै आएको सिटौलाले बताए। कांग्रेसका लागि अहिले सबैभन्दा महत्त्वपूर्ण विषय निर्वाचन नै भएको उनको भनाइ थियो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जोड दिइरहेका सन्दर्भमा केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा महामन्त्रीलाई पार्टीबाट निकाल्न खोजेको हो भन्ने प्रश्नमा सिटौलाले भने, ‘उहाँहरूलाई निकाल्न खोजिएको होइन, न उहाँहरूले पार्टी छोड्न खोज्नुभएको हो।’
महामन्त्रीद्वयले पुस २७ गते विशेष महाधिवेशन गर्ने तयारी गरेको विषयमा प्रतिक्रिया दिँदै सिटौलाले त्यसो नहुने स्पष्ट पारे। ‘त्यस्तो हुँदैन। विशेष महाधिवेशन हुँदैन,’ उनले दोहोर्याए।
यसैबीच, कांग्रेसका नेता सिटौलाले राष्ट्रियसभा निर्वाचनका विषयमा पार्टीले अन्य दलहरूसँग छलफल गरिरहेको जानकारी दिए। राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका उनले आज बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबारे टुंगो लगाउने बताए।
‘कुन कुन पार्टीसँग गठबन्धन गर्ने, क्लस्टर कसरी मिलाउने भन्ने विषयमा आजको बैठकले निर्णय गर्छ,’ उनले भने, ‘एक्लै लड्दा अपेक्षित परिणाम नआउने भएकाले राष्ट्रियसभामा गठबन्धनको कुरा उठेको हो।’
राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहकार्य गर्नु उपयुक्त हुने उल्लेख गर्दै उनले दलहरूबीच तालमेल आवश्यक रहेको धारणा राखे। तर प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस एक्लै चुनाव लड्ने पार्टीको बटमलाइन रहेको उनले स्पष्ट पारे।
प्रत्यक्ष जनतामा जाने आम निर्वाचन भएकाले आफ्नै विचार र कार्यक्रम लिएर चुनावमा जानुपर्ने सिटौलाको भनाइ थियो। कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि एमाले, नेकपा तथा मधेशी मोर्चासँग पनि तालमेलबारे छलफल गरिरहेको उनले जानकारी दिए।




















