काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। विशेष महाधिवेशनले पार्टी फुट्न सक्ने भन्दै चिन्ता व्यक्त भइरहेका बेला उनले पार्टी पंक्तिलाई ढुक्क हुन आग्रह गरेका हुन्।
महामन्त्री शर्माले भने, ‘विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजन हुँदैन।’ विधानअनुसार माग गरिएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर होइन, अझ मजबुत बनाउने उनको भनाइ छ।
पुस २७ र २८ गते आयोजना हुने गरी विशेष महाधिवेशनको प्रचार भइरहेको छ। त्यसका लागि भृकुटीमण्डपको हलसमेत बुक गरिएको छ। विशेष महाधिवेशनका कार्यविधि र पारित हुने एजेन्डा महाधिवेशन हलले नै तय गर्ने पक्षधर नेताहरूले जानकारी दिएका छन्।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा कूल ४७४३ महाधिवेशन प्रतिनिधि मध्ये २४८८ प्रतिनिधिले हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष विशेष महाधिवेशनको माग पेस गरिएको थियो। मागकर्ताहरूका अनुसार विशेष महाधिवेशनका लागि समर्थन हस्ताक्षर अझै बढ्दै जानेछ।
विशेष महाधिवेशनको हस्ताक्षर संकलनमा संलग्न एक अगुवा नेताका अनुसार पछिल्लो समय हस्ताक्षर फिर्ता लिन दबाब बढेको छ। ‘केहीले फिर्ता लिन पनि सक्छन्, तर समग्रमा समर्थन गर्नेको संख्या बढ्ने नै देखिन्छ,’ उनले भने, ‘५४ प्रतिशतबाट बढेर ६४ प्रतिशतभन्दा माथि पुग्ने हाम्रो आकलन छ।’




















