काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार बन्दसूचीमा रहेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेको संख्या ६ पुगेको छ।
यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले समानुपातिक उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका थिए।
पछिल्लो राजनीतिक परिस्थितिमा बन्दसूचीमा रहिरहनु उपयुक्त नदेखिएको भन्दै डा. पाँडेले पनि आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्। उनले उक्त निर्णय हिजो राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराएको बताएका छन्।
डा. पाँडेले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पछिल्लो समय विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ।’




















