काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का सचिव महेश बस्नेत सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्। आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
यस क्षेत्रमा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार रहेका थिए। तर दुवैले आफ्नो दाबेदारी फिर्ता लिएपछि बस्नेतको नाम सर्वसम्मत रूपमा अघि सारिएको हो।
बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत दाबेदारी फिर्ता लिएर उम्मेदवारी सिफारिस प्रक्रिया सहज बनाएकोमा राजथला र श्रेष्ठप्रति धन्यवाद व्यक्त गरेका छन्।
भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र) बाट रामप्रसाद सापकोटा (दीपशिखा) उम्मेदवार सिफारिस भएका छन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–२ बाट निर्वाचित बस्नेत त्यसबेला उद्योग मन्त्रीसमेत बनेका थिए। तर २०७९ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग पराजित भएका थिए।




















