काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग थप चर्किएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन्।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारी थालेका छन्। त्यसका लागि काठमाडौंस्थित भृकुटीमण्डपको हलसमेत बुक भइसकेको नेताहरूले जानकारी दिएका छन्।
जेनजी आन्दोलनपछि बद्लिएको राजनीतिक परिवेशमा पुरानै नीति र नेतृत्वका साथ आगामी निर्वाचनमा जान नसकिने निष्कर्षसहित विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको भनाइ छ।
पत्रकार सम्मेलनमा नेता देवराज चालिसेले नियमित महाधिवेशन सम्भव नभएकाले अब विशेष महाधिवेशन नै एकमात्र विकल्प भएको बताए। उनले भने, ‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी छैन।’
पत्रकार सम्मेलनमा वाचन गरिएको विज्ञप्तिमा पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी पार्टी केन्द्रले पूरा गर्ने विश्वास व्यक्त गरिएको छ।
पार्टी विभाजन नहोस् : सभापति देउवा
यता, निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने पक्षमा रहेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ। भेटमा सभापति देउवाले पार्टी विभाजन नहोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।
केन्द्रीय कार्यसमिति चलिरहेकै अवस्थामा निर्वाचनअघि नियमित महाधिवेशन गर्नुपर्ने माग गर्दै दबाब दिँदै आएको उक्त समूह शुक्रबार बिहान महाराजगञ्जस्थित देउवाको निवास पुगेको थियो।
समूहकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीमा देखिएको पछिल्लो विवादबारे सभापतिसँग छलफल भएको जानकारी दिइन्। उनका अनुसार समूहले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्ने तयारी गरेको छ।
‘पहिले पनि चुनावअघि र पछि महाधिवेशन गर्ने विषयमा सहमति जुटाउन भूमिका खेलेका थियौं,’ संग्रौलाले भनिन्, ‘अहिले पनि पार्टीलाई निकास दिन र विभाजन हुन नदिन पहल गरिरहेका छौं।’
उनले पार्टी एकतामा राख्न सभापतिले अग्रसर भूमिका खेल्न आग्रह गरिएको बताइन्। सभापति देउवाले पनि पार्टी विभाजन नहोस्, सबै मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेको उनको भनाइ छ।
१६ पुसका लागि तय भएको वडा अधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित अधिवेशन स्थगन गर्ने निर्णय गरेका थिए। उनीहरूले केही दिनभित्रै पुस २७ का लागि विशेष महाधिवेशन घोषणा गर्ने तयारीसमेत गरिरहेका छन्।
नियमित महाधिवेशन स्थगनपछि नेपाली कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
























