काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.३१ अंकले बढेर ४५६.७३ विन्दुमा अडिएको छ।
यसदिन ३४२ स्क्रिप्सको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँमा खरिदबिक्री भए। दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एसवाइ प्यानल नेपाल र नगदी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।
विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा ग्रीन भेन्चर्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
बन्दिपुर केवलकार एण्ड टुरिजमले १५ करोडको सेयर कारोबार गर्दा श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले १३ करोड, हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्टले १२ /१२ करोडको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये १६३ वटा स्टक्सको मूल्य बढ्दा ८९ वटाको घट्यो। ८ स्टक्सको मूल्य भने स्थिर रह्यो। १३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ।

























