काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने अवस्था अझै बन्न नसकेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भगाइएका कैदी, लुटिएका हतियार तथा सुरक्षाकर्मीहरूको कमजोर मनोबलका कारण देशमा गम्भीर सुरक्षा चुनौती देखिएको उल्लेख गरे। यस्ता परिस्थितिमा भयरहित निर्वाचन कसरी सम्भव हुन्छ भन्ने यक्षप्रश्न अझै यथावत् रहेको उनको भनाइ थियो ।
उनले फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा भए पनि विघटित प्रतिनिधिसभाका बहुसंख्यक सांसदहरूले प्रतिनिधिसभा विघटनविरुद्ध उठाएका प्रश्नहरूको संवैधानिक र न्यायिक परीक्षण हुन बाँकी नै रहेकाले निर्वाचन हुन्छ भन्नेमा कुनै ग्यारेन्टी नरहेको जिकिर गरे ।
‘फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएको छ,’ ज्ञवालीले भने, ‘एकातिर प्रतिनिधिसभा विघटनविरुद्ध उठाइएका गम्भीर प्रश्नहरूको संवैधानिक तथा न्यायिक परीक्षण बाँकी छ भने अर्कोतिर भगाइएका हजारौँ कैदी, लुटिएका सयौँ आधुनिक हतियार र सुरक्षाकर्मीहरूको कमजोर मनोबलका कारण उत्पन्न सुरक्षा चुनौतीका बीच भयरहित निर्वाचन कसरी सम्भव हुन्छ भन्ने प्रश्न कायम नै छ ।’
एमाले नेता ज्ञवालीले पपुलिजमका आधारमा मुलुकलाई अगाडि बढाउन नसकिने पनि स्पष्ट पारे ।
























