काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
मंगलबार केही पत्रकारहरूसँगको भेटघाटमा देउवाले आफूले यस विषयमा पार्टी नेताहरूलाई सुझाव दिँदै आएको भए पनि महाधिवेशन अगाडि नै गर्ने निर्णय भए त्यसमा अवरोध नगर्ने स्पष्ट पारे। ‘निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने हो भनेर अघि बढ्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन।’
उनले आफू १५औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ भूमिकामा रहने बताए। विधानअनुसार आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र त्यसप्रति कुनै इच्छा पनि नभएकाले अन्य नेताहरूलाई मात्रै प्रोत्साहन गर्ने उनको भनाइ थियो।
सभापति देउवाले विशेष महाधिवेशन भने नहुने स्पष्ट गरे। ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भन्ने विषयमै फेरि विवाद सुरु हुन्छ,’ उनले भने, ‘त्यसकारण विशेष महाधिवेशन हुँदैन। नियमित महाधिवेशन गर्ने हो भने सबै मिलेर गर्दा हुन्छ।’
























