काठमाडौं । सरकारले गृह सचिवसहित सात सचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो ।
जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै जिम्मेवारीबाट हटाएर लोक सेवा आयोगमा सरुवा गर्ने निर्णय गरेको छ ।दंगाललाई रक्षा सचिवबाट सरुवा गरी गृह सचिवको जिम्मेवारी दिएको थियो।
नयाँ गृह सचिवको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई दिइएको छ । श्रेष्ठ यसअघि लोक सेवा आयोगमा सचिवका रूपमा कार्यरत थिए ।
यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने दीपक काफ्लेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवमा जिम्मेवारी दिइएको छ।
त्यसैगरी, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ ।
























