काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब आह्वान गर्न माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ।
नेपाली कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले अध्यक्ष दाहाललाई भेटी कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै अधिवेशन छिटो बोलाउन पहल गर्न आग्रह गरेको हो ।
कांग्रेस संसदीय दलले गत पुस १० गते बसेको बैठकबाट देशमा विकसित भएको राजनीतिक विषम परिस्थितिमा प्रतिनिधि सभा असंवैधानिक रूपमा विघटन भएको भन्दै जनताका आवाज उठाउने सार्वभौम संघीय संसदअन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको अवस्थामा त्यसको बैठक बस्न अत्यावश्यक भएको निष्कर्ष निकालेको थियो। सोही निर्णयअनुसार राष्ट्रियसभाको अधिवेशन तत्काल आह्वान गर्न सम्बन्धित निकायसँग पहल गर्न अध्यक्षलाई अनुरोध गरिएको कांग्रेसले जनाएको छ।
उक्त भेटमा राष्ट्रियसभा सदस्यहरू कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत सहभागी रहेका थिए।

























