काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार क्यासिनोका अध्यक्ष, चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति नियन्त्रणमा लिइएको हो ।
यसअघि प्रहरीले सोही क्यासिनोबाट चार भारतीय नागरिक र दुई नेपाली महिलालाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको थियो । ठमेलको अलफ्ट होटल परिसरमा सञ्चालित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिमा जुवा खेल्दा अत्याधुनिक प्रविधिको प्रयोग गरी ठगी गरिएको पाइएको प्रहरीले जनाएको छ।
जुवा खेल्ने क्रममा तासमा चिप्स जडान गर्ने र आँखामा विशेष लेन्स प्रयोग गरेर हार–जित पहिले नै थाहा पाउने गरी ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई मंसिर २६ गते पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारतीय नागरिकहरू ५७ वर्षीय सुरेश महाजंग, ३९ वर्षीय प्रमोद मोरिया, ३१ वर्षीय विक्रम सिंह र ३७ वर्षीय दिनेश वर्मा रहेका छन्। त्यस्तै, नेपाली नागरिक ४० वर्षीय भवानी पाण्डे र ३६ वर्षीय चिजा खड्का पनि पक्राउ परेका छन्।
प्रहरी अनुसन्धानअनुसार आरोपीहरूले प्रयोग गर्ने तासमा पहिले नै चिप्स जडान गर्ने र त्यसको कनेक्सन आँखामा लगाइने लेन्ससँग जोडेर खेलको परिणाम पहिल्यै थाहा पाउने व्यवस्था गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लेन्स प्रयोग गर्ने व्यक्तिले हार–जितबारे अग्रिम जानकारी पाउने भएकाले अन्य खेलाडीहरूलाई हराउँदै करोडौं रुपैयाँ बराबरको रकम जित्ने गरेको खुलेको छ।
यस प्रकरणमा क्यासिनो सञ्चालक पक्षको संलग्नताबारे समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























