काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आइतबार बिहान ७ बुँदे सहमति भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत गम्भीर टिप्पणी गरेका छन् ।
फेसबुकमा लेखेको स्टाटसमा महासचिव पोखरेलले भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरिएको र त्यस क्रममा केही युवाको हत्या भएको दाबी गरेका छन्। उनका अनुसार त्यसको आडमा भाद्र २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गर्दै मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने प्रयास गरिएको थियो।
पोखरेलले ती घटनालाई भूराजनीतिक द्वन्द्वसँग जोड्दै नेपाललाई ‘युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण’ भएको उल्लेख गरेका छन्। उनले उक्त विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक क्रमशः सार्वजनिक हुँदै गएको पनि दाबी गरेका छन्। साथै, सोही षड्यन्त्रको दोस्रो चरणको तयारीसमेत सुरु भएको आरोप उनको स्टाटसमा उल्लेख छ।
यस्तो अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्ने उनको भनाइ छ। नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने आह्वानसमेत उनले गरेका छन्।
रास्वपा र काठमाडौं महानगरपालिकाबीच भएको ७ बुँदे सहमतिपछि आएका पोखरेलका यी अभिव्यक्तिले समसामयिक राजनीतिक घटनाक्रम र त्यसका सम्भावित असरबारे बहस चर्किने संकेत देखिएको छ।
























