काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरीका ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व सङ्कलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए ।
त्यस्तै, दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पाटपुर्जा आयातबाट १२ अर्ब ७४ करोड रकम प्राप्त गरेको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत रहेको छ ।
त्यस्तै, फलाम तथा फलामबाट बनेका सामानबाट भने ५ अर्ब ६५ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै, कपडाको आयातबाट भने ४ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले चालू आवको पाँच महिनामा समग्रमा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ । (रासस)

























