काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग करिब अढाइ घन्टा लामो वार्ता गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बाहिरिएका छन्। वार्तापछि सञ्चारकर्मीले घेरे पनि रविले ठोस प्रतिक्रिया दिन चाहेनन्।
वार्ताको परिणामबारे प्रश्न गर्दा रविले उल्टै प्रतिप्रश्न गरे, ‘मेरो अनुहारले के बताउँछ र ?’ अब जनताले चाहेको नतिजा आउँछ कि आउँदैन भन्ने प्रश्नमा उनले भने, ‘त्यसका लागि अलिकति प्रतीक्षा गर्नुस्।’
रविसँग कुरा नमिलेपछि बालेनले आफ्नै पार्टीलाई अघि बढाउने तयारी तीव्र बनाएका छन्। यस क्रममा उनले जेन–जी समूहलाई समेट्ने जिम्मेवारी जेन–जी आन्दोलनबाट चर्चामा आएकी रक्षा बमलाई दिएका छन् भने अन्य वैकल्पिक नेताहरूसँग समन्वय गर्ने जिम्मा आफूले लिने बताएका छन्।
बालेन निकट एक नेताका अनुसार जेन–जी अगुवासँगको छलफलमा बालेनले रक्षा बमलाई भनेका छन्, ‘तपाईं जेन–जीलाई मिलाउनुस्, गोपी हमालदेखि हर्क साम्पाङसम्म म मिलाउँछु।’
गणतन्त्र र संघीयताबारे बालेनको धारणा स्पष्ट भएपछि रक्षा बम पनि उनीसँगै काम गर्न तयार भएकी छन्। बालेन गणतन्त्र वा संघीयताका विपक्षमा छन् भन्ने चर्चा चलिरहेका बेला बमले उनीसँग वैचारिक स्पष्टता खोजेकी थिइन्।
‘मैले संघीयता, संविधान र लोकतन्त्रप्रति उहाँको धारणा के हो भनेर सोधेकी थिएँ,’ बमले भनिन्, ‘उहाँले संघीयता चाहिन्छ, लोकतन्त्र र गणतन्त्र मान्छु, संविधान मान्छु भन्नुभयो। त्यसपछि मलाई थप शंका रहेन।’
बमका अनुसार सबै वैकल्पिक शक्ति एक ठाउँमा आउनु आवश्यक छ भन्ने साझा बुझाइका कारण आफू बालेनसँग सहकार्य गर्न सहमत भएकी हुन्। ‘सबै वैकल्पिक शक्ति एक ठाउँमा आयो भने मात्रै उभिन सकिन्छ भन्ने हाम्रो पहिलेदेखिकै धारणा हो,’ उनले भनिन्।
चुनाव नजिकिँदै जाँदा बालेनले राजनीतिक गतिविधि बढाएका छन्। उनले जेन–जी युवासँग सामूहिक र व्यक्तिगत छलफलसमेत गरेका छन्। बालेनको सचिवालयमार्फत जेन–जी युवासँग समन्वय गर्ने औपचारिक जिम्मेवारी रक्षा बमलाई दिइएको छ।
यससँगै बालेन जेन–जीसहित विभिन्न वैकल्पिक शक्तिलाई एकै प्लेटफर्ममा ल्याएर आफ्नै पार्टीलाई अघि बढाउने दिशामा सक्रिय रूपमा लागेका छन्।
























