काठमाडौं । आफ्नै पार्टी अगाडि बढाउने तयारी थालेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच वान–टु–वान वार्ता सुरु भएको छ ।
बालेन समूहका सहयोगी कुमार बेनको ललितपुरस्थित कुपण्डोलको घरमा उनीहरूबीच छलफल भइरहेको छ । यसअघि सोही स्थानमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच पनि भेटघाट भएको थियो । शर्माले छलफलपछि प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावनाबारे बालेनसँग कुराकानी भएको बताएका थिए ।
बुधबार पनि वालेनले सोही घरमा विभिन्न नेता, पत्रकार, कलाकार, उद्योगी व्यवसायीसँग भेटवार्ता गर्दै साथ सहयोगका साथै सुझाव मागेका थिए ।
आज विहानै देखि वालेनले सोही घरमा बसेर विभिन्न नेताहरुसँग छलफल गरिरहेका बेला रवि लामिछाने पनि पुगेका छन् । उनका साथमा रास्वपाका असिम शाह र गणेश कार्की त्यहाँ पुगेका भए पनि उनीहरू वार्तामा सहभागी नभएको बताइएको छ । वैकल्पिक राजनीतिक अभियानमा सक्रिय सागर ढकाल र जेन–जी आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङ पनि सोही स्थानमा उपस्थित छन्।
यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो छलफल भएको थियो । कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको घरमा भएको उक्त भेटमा सरकारको नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले सम्हाल्ने प्रस्ताव आएको समाचार सार्वजनिक भएका थिए। अर्को निर्वाचनपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोग गर्ने विकल्पबारे पनि छलफल भएको बताइन्छ । तर रविले मंगलबार चितवनमा बोल्दै कुरा फेरेपछि रिसाएका बालेनले देश विकास पार्टीलाई अघि बढाउन छलफल शुरु गरेका छन् ।
आज बिहान मात्रै बालेनले ऊर्जामन्त्री कुलमान घिसिङलगायत विभिन्न व्यक्तिसँग पनि छलफल गरेका थिए ।

























