काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रधानमन्त्रीको उम्मेदवारलगायत शक्ति बाँडफाँटमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आफ्नै नेतृत्वमा ‘देश विकास पार्टी’ अघि बढाउने तयारीमा पुगेका छन्।
बालेनले लौरो चुनाव चिह्न रहेको, निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टीको नेतृत्व आफूले सम्हाल्ने संकेत बुधबार निकटस्थहरूलाई दिएका छन्। सोमबार राति रवि लामिछानेसँग भएको लामो वार्तालाई सुरुमा ‘सकारात्मक’ मानिए पनि शक्ति बाँडफाँट, संरचनागत भूमिकालगायत विषयमा कुरा नमिलेको बालेन पक्षको दाबी छ। रविले वार्तापछि सार्वजनिक रूपमा फरक अभिव्यक्ति दिएको भन्दै बालेन असन्तुष्ट बनेको उनी निकटस्थहरू बताउँछन्।
बालेनको अडान आगामी निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनुपर्छ भन्ने रहेको छ। “सम्मानजनक शक्ति बाँडफाँट भए मिल्छ, नभए आफ्नै बाटो लिन्छौँ,” उनले निकटस्थहरूसँग भनेको बताइन्छ। यही कारण रास्वपासँग संवाद खुलै राख्दै आफ्नै पार्टीलाई सशक्त बनाउने तयारी अघि बढाइएको छ।
बुधबार बालेनले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा राजनीतिज्ञ, पत्रकार, जेन–जी अगुवा, कलाकार तथा व्यवसायीहरूसँग लामो छलफल गरेका छन्। छलफलमा नयाँ शक्तिहरूलाई एकीकृत गरेर अघि बढ्ने, सुशासन र विकासलाई केन्द्रमा राख्ने तथा संविधानको दायरामै रहेर राजनीति गर्ने विषयमा जोड दिइएको बताइन्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीप्रति भने बालेन सशंकित देखिएका छन्।
देश विकास पार्टी पहिले ‘हाम्रो नेपाली पार्टी’को नामबाट दर्ता भएको थियो, जसको चुनाव चिह्न लौरो नै कायम छ। सोही चिह्नबाट बालेन काठमाडौं महानगरको मेयर निर्वाचित भएका थिए। हाल पार्टीको नेतृत्व परिवर्तन र संगठन विस्तारबारे छलफल तीव्र बनेको छ।
यद्यपि, रास्वपासँग सहकार्यको ढोका पूर्ण रूपमा बन्द गरिएको छैन। “आफ्नो तयारी गरौँ, तर सम्भावना खुला राखौँ,” भन्ने बालेनको धारणा रहेको निकटस्थहरूको भनाइ छ।

























