सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन चाहने हो भने निर्वाचनको कुनै विकल्प नरहेको बताएका छन् । निर्वाचन लोकतन्त्रको असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले यसले नागरिक शक्तिलाई सरकारमा पुर्याउँदै शासनलाई वैधानिकता प्रदान गर्ने मूल प्रणाली भएको उनको भनाइ छ ।
बुधबार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा संयुक्त रूपमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘निर्वाचनबिनाको अवस्थामा सुशासन कायम गर्न कठिन हुन्छ । देश थप अस्थिरतातर्फ धकेलिन सक्छ, त्यसैले सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।’
हालै भएको जेनजी जनआन्दोलनले राजनीतिमा युवाहरूको मूलप्रवाहीकरण भएको उल्लेख गर्दै मन्त्री अर्यालले अब युवालाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताए । आवधिक निर्वाचन नै सुशासनको आधार भएको र ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्न प्रभावकारी रूपमा काम गर्न सक्ने तथ्यलाई भुल्न नहुने उनको भनाइ छ ।
गृहमन्त्री अर्यालले सुशासन दिन नसकिए विद्रोहको अवस्था सिर्जना हुन सक्ने भन्दै नयाँ पुस्ताका जायज माग समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय केही राजनीतिक दलहरूले नवपुस्तालाई पार्टीका प्रमुख जिम्मेवारीमा अघि सारेको देख्दा सरकार खुसी भएको पनि उनले बताए ।
निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने म्यान्डेटका साथ गठन भएको नागरिक सरकार स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित अघि बढिरहेको उनले बताए । सरकारले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न दृढ प्रतिबद्धता व्यक्त गरिरहेको कुरा पनि उनले दोहोर्याए ।
यसैबीच, यही पुस ७ गते प्रधानमन्त्रीको पहलमा आयोजित सर्वपक्षीय छलफलबाट आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै मितिमा सम्पन्न गर्ने साझा प्रतिबद्धता व्यक्त भएको विषय पनि मन्त्री अर्यालले स्मरण गराए ।
कर्णाली प्रदेश भौगोलिक रूपमा विकट, संवेदनशील र रणनीतिक महत्त्वको क्षेत्र भएकाले आजको सुरक्षा गोष्ठीमा प्रदेशका सुरक्षा चुनौतीको विश्लेषण, आवश्यक रणनीति तय गर्ने तथा निर्वाचनका लागि गरिएका र गर्नुपर्ने तयारीबारे खुला छलफल गरी निष्कर्षमा पुग्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार आगामी निर्वाचनका लागि संघीय सरकारलाई आवश्यक साथ–सहयोग गर्न तयार रहेको बताए । तर, हालसम्म निर्वाचनका लागि अनुकूल वातावरण पूर्ण रूपमा नबनिसकेको उनको भनाइ थियो ।
राजनीतिक दल र दलीय व्यवस्थालाई बेवास्ता गर्दै सौहार्दपूर्ण राजनीतिक वातावरण निर्माण गर्न नसकिए आगामी निर्वाचन सम्पन्न गर्न चुनौती हुने मुख्यमन्त्री कँडेलले चेतावनी दिए ।

























