काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले महाधिवेशन नगरी निर्वाचनमा गए कांग्रेसले सर्मनाक हार व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु प्रत्युत्पादक हुने उनको भनाइ थियो । “अधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले सर्मनाक हार बेहोर्नुपर्ने अवस्था आउँछ,” उनले भने, “अधिवेशन गरेर चुनावमा बढी सिट जित्न सकिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नैपर्छ ।”
नेकपा एमालेले महाधिवेशन गरिसकेको सन्दर्भ उल्लेख गर्दै पौडेलले अब कांग्रेसले महाधिवेशन नगर्नु लाजमर्दो हुने बताए । “एउटा कम्युनिष्ट पार्टीले महाधिवेशन गरेर सकारात्मक सन्देश दिएको छ, त्यसैले कांग्रेसले पनि महाधिवेशन गर्नुपर्छ,” उनले भने ।
महाधिवेशनमार्फत पार्टीलाई समयअनुसार अद्यावधिक गर्न नसके देशलाई अगाडि बढाउन सक्छौँ भन्ने विश्वास पैदा नहुने उनको तर्क छ । “आफ्नै पार्टीलाई अपडेट गर्न सक्दैनौँ, विधानअनुसार अघि बढाउन सक्दैनौँ भने देश चलाउँछौँ भनेर कसरी विश्वास दिलाउने ?” उनले प्रश्न गरे ।
अधिवेशन नगरे पदको लोभमा परिवर्तन नचाहने प्रवृत्ति देखिने टिप्पणी गर्दै पौडेलले पार्टी निर्वाचनको मुखमा रहे पनि संगठनमा चलायमानता नआउने अवस्था सिर्जना हुने बताए ।
























