काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। साथै, उनले आफू सभापति निर्वाचित हुने दाबी पनि गरेका छन्।
काठमाडौं–४ का नेता तथा कार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले सभापतिमा लड्ने घोषणा गर्दै भने, “म अहिले पार्टीको १५औं महाधिवेशनको सभापतिको उम्मेदवार हुँ। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु।”
महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने अवसर भएको बताउँदै थापाले क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम ढिला भइरहेकोप्रति असन्तुष्टि जनाए। उनले महाधिवेशन समयमै हुनेमा आफू विश्वस्त रहेको बताए।
महामन्त्री थापाले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै गरिनुपर्ने विषयमा निरन्तर आग्रह गरिरहेको र यसमा स्पष्ट धारणा राख्दै आएको बताए।
उनले भने, “समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो, तर कताकता ढिलाइको संकेत देखिरहेका छौं। यस विषयमा पार्टी नेतृत्वलाई हामी स्पष्ट रूपमा भनिरहेका छौं। आवश्यक परे जुनसुकै मूल्य चुकाउन पनि तयार छौं।”
महामन्त्री थापाले नियमित वा विशेष महाधिवेशन जुनसुकै माध्यमबाट भए पनि अधिवेशन हुनैपर्नेमा जोड दिए। साथै, महाधिवेशन नगरी नेपाली कांग्रेस निर्वाचनमा नजाने स्पष्ट अडान दोहोर्याए।

























