काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानलाई सही ट्र्याकमा फर्काउन २१ फागुनमा निर्वाचन गरिनु अनिवार्य रहेको बताएका छन्। साथै, पार्टीको महाधिवेशन नगरी कांग्रेस चुनावमा नजाने स्पष्ट पारेका छन्।
सोमबार धुम्बाराहीस्थित ब्यांकेटमा आयोजित काठमाडौं–४ का पार्टी कार्यकर्ताहरूसँगको छलफलमा महामन्त्री थापाले पार्टीको महाधिवेशन सम्पन्न गरेर मात्र २१ फागुनको निर्वाचनमा सहभागी हुने बताए।
उनले भने, “अधिवेशनविना नेपाली कांग्रेस निर्वाचनमा जाँदैन, जानु हुँदैन र जान सक्दैन—यसमा कुनै द्विविधा छैन।”
सार्वजनिक भइसकेको वडा अधिवेशनको कार्यतालिकाबारे बोल्दै थापाले एक–दुई दिनको तलमाथि हुन सक्ने भए पनि अधिवेशन प्रक्रिया रोकिने अवस्था नरहेको स्पष्ट गरे।
उनले भने, “हामीले तोकेको तिथिमा एक–दुई दिन फरक पर्न सक्छ, तर अधिवेशन रोकिन्न। या त नियमित अधिवेशन अघि बढ्छ, होइन भने विशेष महाधिवेशन हुन्छ। त्यसबाहेक अर्को विकल्प छैन।”
महामन्त्री थापाले अधिवेशनपछि कांग्रेस अनिवार्य रूपमा निर्वाचनमा जाने बताए। उनका अनुसार २१ फागुनमै चुनाव हुनुपर्ने विषय पार्टीको आधिकारिक निर्णय हो। उनले भने, “फागुन २१ गते चुनाव हुनैपर्छ, किनभने संविधान ट्र्याकभन्दा बाहिर गएको छ। संविधानलाई पुनः ट्र्याकमा ल्याउन निर्वाचन अपरिहार्य छ।”
निर्वाचनपछि गठन हुने संसद्ले संविधानअनुसार शासन प्रक्रिया अघि बढाउने थापाको भनाइ थियो। “निर्वाचनले नयाँ संसद् ल्याउँछ, र त्यही संसद्ले क्रमशः संविधानअनुसार काम अघि बढाउँछ,” उनले भने।
२१ फागुनमा हुने निर्वाचन कांग्रेसका लागि अनुकूल वा प्रतिकूल जे भए पनि चुनावमा जानु पार्टीको दायित्व भएको थापाले बताए।
उनले भने, “चुनावको परिणाम हाम्रो पक्षमा कति अनुकूल वा प्रतिकूल हुन्छ भन्ने आन्तरिक विषय हो। त्यसबारे छलफल गर्न सकिन्छ, मेहनत बढाउन सकिन्छ, तर चुनावबाट भाग्न सकिँदैन।”
महामन्त्री थापाले निर्वाचन नहुँदा देश गम्भीर अनिश्चितताको दिशामा जान सक्ने चेतावनी पनि दिए। उनले भने, “यदि अब चुनाव भएन भने देश फेरि २००७ देखि २०१५ सालको जस्तै अनिश्चित अवस्थामा फस्न सक्छ। त्यसैले निर्वाचन आवश्यक छ।”

























