काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्।
उनको सचिवालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा विचार–विमर्श गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा उनले भारतको प्रतिष्ठित संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा ‘साउथ एसियाज् डेमोक्र्याटिक फ्युचरः युथ, टेक्नोलोजी एन्ड इन्क्लुसिभ डेमोक्रेसी’ विषयमा किनोट स्पिच दिनेछन्। साथै, नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभ (एसएएफपीआई) ले आयोजना गर्ने विशेष कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
भारत भ्रमण सम्पन्न गरी पूर्वप्रधानमन्त्री भट्टराई पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनका स्वकीय सचिव रेखी गुरुङले जानकारी दिएकी छन्।
यस भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता तथा लोकतान्त्रिक संवादलाई थप मजबुत बनाउने विश्वास भट्टराईले व्यक्त गरेका छन्।

























