काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते निर्वाचन हुनुपर्ने बताएका छन्। उनले निर्वाचन नै प्रजातन्त्रको आधार भएकाले कांग्रेस पार्टी चुनावमा जान तयार रहेको बताए ।
आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँगको भेटघाटका क्रममा कोइरालाले संविधान जोगाउने र मुलुकलाई संक्रमणबाट जोगाउने मुख्य माध्यम निर्वाचन नै भएको उल्लेख गरे।
‘हामी निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा समयमै निर्वाचन हुनेमा आशंका उत्पन्न भएको छ,’ उनले भने।
सरकारले निर्वाचनको अनुकूल वातावरण बनाउन नसकेको आरोप लगाउँदै कोइरालाले केही दलका नेताहरू काठमाडौंबाहिर जान नपाएको, लुटिएका हतियार बाहिरै रहेको र कैदीहरू पनि बाहिर रहेको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए।
उनले पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा जुट्न निर्देशनसमेत दिएका छन्।
























