काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेलबाट रिहा भएपछि सिधै चितवन जाने भएका छन्। उनले शनिबार चितवनको चौबिसकोटीमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित भई आवश्यक कागजी प्रक्रिया पूरा गर्नेछन्। आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो रकमको बैंक ग्यारेन्टी तयारी भइसकेकाले आजै रिहा हुने बताइएको छ।
रिहा भएपछि उनी सिधै चितवन जाने कार्यक्रम रहेको रास्वपाका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले जानकारी दिए। शनिबार चौबिसकोटीमा आयोजना हुने कार्यक्रममा लामिछानेले विशेष सम्बोधन गर्नेछन्। त्यसपछि समय मिले शनिबार नै नभए आइतबार काठमाडौँ फर्किने कार्यक्रम छ।
यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसविरुद्ध उनले बिगो बराबरको रकम सुरक्षित गर्दै बैंक ग्यारेन्टीमार्फत रिहा हुन उच्च अदालतमा निवेदन दिएका थिए। सुनुवाइपछि उच्च अदालतले धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।
उच्च अदालतको आदेशअनुसार लामिछानेलाई पाँच सर्त पालना गर्नुपर्नेछ। ती सर्तमा धरौटी रकम स्वीकार गर्ने, बिगो बराबरको बैंक ग्यारेन्टी सुरक्षित गर्ने, विदेश यात्रा गर्दा अदालतलाई पूर्वजानकारी दिने, जिल्ला अदालतको पूर्व आदेश बदर भएको स्वीकार गर्ने तथा अन्तिम फैसलाअनुसार थप दायित्व आएमा तिर्न मञ्जुर हुने उल्लेख छ।
सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछाने, छवि र जीबी राईसहित ४२ जनाविरुद्ध ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। तीमध्ये रवि, छवि र जीबीले १० करोड ९९ लाख ३६ हजार रुपैयाँ छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। यही बिगो रकममध्ये आफ्नो भाग बराबरको रकम सुरक्षित गरी लामिछानेले रिहा हुन माग गरेका थिए।

























