काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक ( हाल अवकाशप्राप्त) चन्द्रकुवेर खापुङको बयान लिइरहेको छ ।
बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा खापुङको बयान भइरहेको आयोग स्रोतले जनाएको छ। जेनजी घटना भएका बेला खापुङ नै प्रहरी महानिरीक्षक थिए। उक्त घटनाका क्रममा प्रहरीले चलाएको गोली लागेर २३ भदौमा २२ जनाको मृत्यु भएको थियो। घटनापछि प्रहरीले अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको भन्दै व्यापक आलोचना हुँदै आएको छ।
आयोगका अनुसार यसअघि फिल्डमा खटिएका प्रहरी कर्मचारीको विवरण पठाउन आग्रह गर्दा खापुङले अटेर गरेका थिए। त्यसबेला उनले जवानदेखि आईजीपीसम्म सबै फिल्डमै रहेको भन्ने जवाफ पठाएका थिए। उक्त जवाफपछि आयोगले खापुङलाई ५ सय रुपैयाँ जरिवाना गर्ने तयारीसमेत गरेको थियो। त्यसपछि मात्रै उनले आवश्यक विवरण उपलब्ध गराएको आयोगको दाबी छ।
आयोगले घटनासँग सम्बन्धित पक्षहरूको बयान लिने काम अन्तिम चरणमा पुर्याएको जनाएको छ। अब तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारी भइरहेको आयोग स्रोतले बताएको छ।
























