काठमाडौं । सेयर बजार सकारात्मक बनेको छ। सोमबार र मंगलबार दुई कारोबार दिन सकारात्मक देखिएको नेप्से आज पनि सोही दिशालाई निरन्तरता पाएको हो। बुधबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। परिसूचक ५.७० अंकले बढेर २६२५.७० विन्दुमा कायम भएको हो। अघिल्लो दिन मंगलबार १८.३७ अंकले बढेको नेप्से सोमबार ६.७४ अंकले वृद्धि भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार भने परिसूचक १२.५० अंकले घटेको थियो ।
यसदिन ३३२ स्क्रिप्सको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ४ अर्ब ५३ करोड ७ लाख २० हजार ७८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम मंगलबारको तुलनामा बढी हो। मंगलबार ३ अर्ब २९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाइ प्यानेल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नारायणी डेभलपमेन्ट बैंकको सेयर ८.७७ प्रतिशतले बढ्दा चिरख्वा हाइड्रोपावर ५.३३ र माइ खोला हाइड्रोपावरको ४.३३ प्रतिशतले बढ्यो।
बराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो । सो कम्पनीको २२ करोड ७८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। मञ्जुश्री फाइनान्सले १३ करोडको सेयर कारोबार गर्दा नगदी ग्रुप पावरको ११ करोड,हिमालयन रिइन्स्योरेन्सले १० करोड र राधी विद्युतको ९ करोड ३१ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १४३ वटा स्टक्सको मूल्य बढ्दा १०४ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। १० वटा समूहको उपसूचक बढ्दा तीन समूहको उपसूचक नकारात्मक देखिएका छन्। होटल्स एण्ड टुरिजम,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक घट्दा अन्य समूहको उपसूचक सकारात्मक देखिएका हुन्।
























