काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदका उम्मेदवार पासाङ शेर्पाको उम्मेदवारी खारेज गरिएको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका कारण उनको उम्मेदवारी अमान्य गरिएको हो ।
शेर्पाले आदिवासी–जनजाति खुला समूहअन्तर्गत उम्मेदवारी दर्ता गराएका थिए । तर बहुविवाह मुद्दामा दोषी ठहर भइसकेकाले उम्मेदवार बन्न नपाउने भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको थियो ।
उजुरीमाथि छानबिनपछि निर्वाचन आयोगले शेर्पाको उम्मेदवारी खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको जनाएको छ ।
शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय सदस्यको सूचीमा समावेश गरेको थियो ।

























