काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा सहभागी हुनका लागि उनले सल्लाहकार पदबाट अलग भएको बताएका छन् ।
थापाले पार्टीको महाधिवेशन र आगामी निर्वाचनलाई मध्यनजर गर्दै राजीनामा दिएको स्पष्ट पारे । “पार्टीको महाधिवेशन नजिकिएको छ । चुनावको मिति पनि घोषणा भइसकेको छ । त्यसैले सक्रिय राजनीतिमा फर्किन पदबाट राजीनामा दिएको हुँ,” उनले भने ।
नेपाली कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकेको छ । राष्ट्रिय सभाको निर्वाचन भने माघ ११ गते हुने तय गरिएको छ ।
थापाको नाम राष्ट्रिय सभा सदस्य उम्मेदवारका रूपमा धनकुटाबाट सिफारिस गरिएको छ । कांग्रेसका पूर्व सहमहामन्त्रीसमेत रहेका थापालाई राष्ट्रपति पौडेलले २०७९ चैतमा राजनीतिक सल्लाहकार पदमा नियुक्त गरेका थिए ।
























