काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई प्राथमिकतामा राखेर वृद्धि गर्ने नीति अवलम्बन गरेको बताएका छन्।
महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख शाहले करको दायरा विस्तार गरी नागरिकबाट संकलित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको स्पष्ट पारे। उनले महानगरको समग्र कार्यसम्पादन र हालसम्मको प्रगतिबारे जानकारी गराए।
प्रमुख शाहका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न गरिएको छ भने ६२ चोकमा हाईमास्ट लाइट जडान गरिएको छ। साथै ५ हजार ३१८ पोलमा १३ हजार ३४० बत्ती जडान गरी रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको छ। गत आर्थिक वर्षमा रु दुई अर्ब ८६ करोड बराबरका पूर्वाधार योजना सम्पन्न भएका छन्।
सम्पदा संरक्षणतर्फ करिब रु ९१ करोडको लागतमा २७६ मूर्त सम्पदा आयोजना र १२५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएको उनले बताए। महानगरले हालसम्म रु २३ अर्ब बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिसकेको र आगामी दिनमा करिब रु दुई खर्ब बराबरको १ हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गर्ने लक्ष्य लिएको जानकारी पनि उनले दिए।
स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग गर्दै रैथाने सीपलाई आयआर्जनसँग जोड्न ‘एक वडा–एक कार्यक्रम’ सञ्चालन भइरहेको प्रमुख शाहले बताए। आर्थिक, सामाजिक तथा पूर्वाधार विकास, सुशासन र प्रशासनिक सुधार महानगरका नियमित कार्यक्षेत्र रहेको उनको भनाइ छ।
उनले प्राकृतिक तथा मानव–निर्मित सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमार्फत काठमाडौँको सांस्कृतिक पहिचान जोगाउने, सहरी स्वच्छता र सरसफाइ विस्तार गर्ने तथा एकीकृत पूर्वाधार विकासमार्फत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने महानगरको दायित्व रहेको उल्लेख गरे।
स्वास्थ्यतर्फ एक हजार ८६ विपन्न नागरिकलाई उपचारका लागि सिफारिस गरिएको, २१० जनाको निःशुल्क उपचार गरिएको तथा ३२ वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्रसहित ३५ स्वास्थ्य संस्था र जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको जानकारी उनले दिए।
विद्युतीय शासन प्रणालीअन्तर्गत इ–सिफारिस र इ–कार्यालय प्रणाली कार्यान्वयनमा ल्याइएको छ भने १५२ वटा आगलागीका घटना र १४३ जोखिमयुक्त रुखको व्यवस्थापन गरिएको महानगरले जनाएको छ।
सहरी योजना आयोगमार्फत १६४ योजनाको विस्तृत डीपीआर तयार गरिएको छ। रु ६ अर्ब ३३ करोड ५८ लाख लागत अनुमान भएका २५१ योजना बोलपत्रमार्फत खरिद गर्दा रु एक अर्ब २३ करोड बचत भएको प्रमुख शाहले बताए।
‘कल सेन्टर र हेलो सरकारमार्फत प्राप्त नौ हजारभन्दा बढी गुनासामध्ये अधिकांश समाधान गरिएका छन्। साथै ३० हजार ३२३ ज्येष्ठ नागरिकलाई मासिक रु चार हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ,’ उनले भने।
प्रमुख शाहले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनमार्फत काठमाडौँवासीलाई सहरमा बसोबास गरेको गर्व हुने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे। त्यसका लागि सङ्घ, प्रदेश, विकास साझेदार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको उनले बताए।
























