काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले पार्टीको सक्रिय राजनीति छाडेका छन्। महाधिवेशनको अघिल्लो दिन उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन्।
पारिवारिक कारण जनाउँदै रानाले एमालेको एघारौँ महाधिवेशनमा कुनै पनि पदका लागि उम्मेदवारी नदिने र महाधिवेशनमा स्वयं सहभागी पनि नहुने स्पष्ट पारेका छन्।
राना २०३५ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहे। २०७० सालमा उनी भूमि सुधार तथा व्यवस्थामन्त्री बनेका थिए। त्यसअघि र पछि उनी दुईपटक वडाध्यक्ष, दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक संविधानसभा सदस्यसमेत बनिसकेका छन्।
‘भोलीदेखि काठमाडौँमा सुरु हुने एघारौँ राष्ट्रिय महाधिवेशनबाट सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको जानकारी गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर सक्रिय राजनीति छाडे पनि पार्टी सदस्यका रुपमा देश, जनता र पार्टीको हितमा आवश्यकताअनुसार क्रियाशील रहनेछु।’
करिब ४५ वर्षको राजनीतिक यात्रामा आफूले कुनै कार्यकर्तामाथि पूर्वाग्रही वा अन्यायपूर्ण व्यवहार नगरेको दाबी गर्दै रानाले पार्टीगत निर्णयहरू गोपनीयताका कारण खुलाउन नसक्दा कसैलाई अन्याय भएको महसुस भएको भए व्यक्तिगत रूपमा क्षमाप्रार्थी रहेको जनाएका छन्।
महाधिवेशन सफल होस् भन्ने शुभकामना दिँदै उनले एमालेलाई वर्तमान जटिल राजनीतिक परिस्थितिको सामना गर्न सक्षम ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा पुनःस्थापित गर्न महाधिवेशनले भूमिका खेलोस भनेका छन्।
पाल्पाको रामपुर नगरपालिका–१ पुख्र्यौली घर भएका राना हाल बुढानिलकण्ठ नगरपालिका–१०, कपनमा बस्दै आएका छन्।


















