काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ७. ८६ अंकले घटेर २६०६.२० विन्दुमा पुगेको छ। अघिल्लो दिन मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको थियो। त्यसअघि दुई कारोबार दिन आइतबार र सोमबार नेप्से परिसूचक घटेको थियो।
यसदिन ३२९ स्क्रिप्सको ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ रुपैयाँमा कारोबार भयो। यो रकम मंगलबारको तुलनामा कम हो। मंगलबार ३ अर्ब ७५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्वस्तिक लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृष कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एसवाई प्यानेल नेपालको सेयर ९.९७ प्रतिशतले बढ्दा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ८.७६ र थ्री स्टार हाइड्रोपावरको ७.१४ प्रतिशतले बढ्यो।
झापा इनर्जीका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सयर ९.३० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा श्रीनगर एग्रिटेक शीर्षस्थानमा रह्यो। सो कम्पनीको २६ करोड ३९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
नगदी ग्रुपको १७ करोडको सेयर कारोबार हुँदा युनिर्भसल पावरको ११ करोड,सागर डिस्टिलरीको १० करोड र हिमालयन इन्स्योरेन्सको ६ करोड मूल्य बराबरको कारोबार भयो।
कारोबारमा आएकामध्ये ७९ स्टक्सको मूल्य बढ्दा १६९ वटाको घट्यो। ९ स्टक्सको मूल्य स्थिर रह्यो। दुईवटा समूहको उपसूचक बढ्दा ११ वटाको उपसूचक नकारात्मक देखिए। मनु एण्ड प्रो र म्युचुअल फण्डबाहेक अरु समूहको उपसूचक नकारात्मक देखिका हुन् ।

























