रुपन्देही । नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार पक्राउ पुर्जी कार्यान्वयन गरी नियन्त्रणमा लिएको हो।
डीएसपी नेपालकी जेठी श्रीमती तारा खनाल नेपालले बहुविवाहको उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। उजुरी परेपछि नेपाल स्वयं प्रहरी कार्यालयमा उपस्थित भएका थिए भने अनुसन्धानका लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए।
उनका अनुसार डीएसपी नेपालले प्रहरीकै एक असईलाई दोस्रो विवाह गरेको तथ्य उजुरीमा उल्लेख छ। घटनाबारे आवश्यक अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ।
डीएसपी नेपाल यसअघि पनि २०७४ सालमा निलम्बनमा परेका थिए। बुटवलको वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षकका रूपमा कार्यरत रहँदा गाँजा कारोबारसम्बन्धी आर्थिक लेनदेन विवादमा मुछिँदा उनी निलम्बनमा परेका थिए। त्यसपछि उनी नायब उपरीक्षकको तत्कालीन बढुवा सूचीबाट समेत छुटेका थिए।

























