काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया तत्काल टुंग्याउन जिल्लागत संरचनालाई परिपत्र जारी गरेको छ ।
महामन्त्री गगन थापाले पुस २६ देखि २८ सम्म हुने १५औँ महाधिवेशनको तयारीसँगै सदस्यता सम्बन्धी सबै कार्य निर्धारित समयमै सम्पन्न गर्न जिल्ला सभापतिलाई निर्देशन दिएका हुन् ।
परिपत्रमा भनिएको छ, नवीकरण नभएका तथा विवरण पठाउन बाँकी रहेका जिल्लाले तत्काल तहगत समन्वय गरी नवीकरण विवरण संकलन गर्ने, वडादेखि जिल्ला कार्यसमितिको निर्णयसहित अन्तिम नामावली तयार गर्ने र सम्बन्धित शुल्कसमेत कार्यतालिकामा तोकिएको म्यादभित्र केन्द्रमा पठाइसक्नुपर्ने उल्लेख छ ।
निर्धारित समयभित्र नवीकरण सूची पठाइसकेपछि कुनै सदस्यता छुट भएमा ती व्यक्तिको छुट्टै नामावली बनाएर निर्णयसहित पुस ३ गतेभित्र अनिवार्य रूपमा केन्द्रमा पठाउनुपर्ने पनि परिपत्रमा उल्लेख छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत वितरण गर्ने व्यवस्था मिलाइएकाले सबै क्षेत्रीय समितिमा फारम पठाइसकिएको जानकारी समेत परिपत्रमा छ ।
त्यसैगरी, एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाले पुस १० भित्र र दुई वा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पुस ११ भित्र सम्पूर्ण प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशन गरेर केन्द्रमा पठाउन निर्देशन दिइएको छ ।
परिपत्रले महाधिवेशनको कार्यतालिका समयमै सम्पन्न गर्न मातहतका सबै संरचनालाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।

























