काठमाडौं । काठमाडौंको सिनामंगलमा एक दर्दनाक घटना घटेको छ, जहाँ नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाको छोराको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
आइतबार दिउँसो सिनामंगलस्थित डेरा कोठामा छोरालाई घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । हत्यापछि भागिरहेको अवस्थामा नागढुंगाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । कार्कीलाई परिसरको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।
मृतक शिशु ब्रेन ट्युमरको उपचार गराइरहेका थिए । उपचारको विषयलाई लिएर असई कार्की र उनकी श्रीमती कृष्णा कुँवरबीच विवाद भएको, सोही विवादका कारण घटना घटेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
कार्कीकी श्रीमती कृष्णा कुँवर स्वयं पनि प्रहरी जवान हुन्, र दुवै जना काठमाडौं विमानस्थलमा कार्यरत छन्। घटनाक्रमका बीच कृष्णालाई समेत कुटपिट गरिएको हुँदा उनी घाइते भएकी छन् र हाल उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

























