काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि निर्धारित कार्यसूची मंसिर २० गतेदेखि औपचारिक रूपमा शुरु हुने भएको छ। आयोगले आइतबारदेखि कान्तिपथस्थित कार्यालयमा समानुपातिकतर्फका निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी तयारी अघि बढाएको हो।
निर्वाचन आयोगले पारित गरेको कार्यक्रमअनुसार मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म समानुपातिक प्रणालीमा सहभागी हुन इच्छुक राजनीतिक दलले निवेदन दर्ता गराउन सक्ने छन्। मंसिर २४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन दर्ता गराएका दलहरूको नामावली सार्वजनिक गरिनेछ।
उम्मेदवारको बन्दसूची पेस गर्ने मिति पुस १३ र १४ गते तोकिएको छ भने बन्दसूचीको अन्तिम प्रकाशन माघ २० गते हुनेछ। समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरेका हुन्। आयोगका सचिव महादेव पन्थ निर्वाचन अधिकृत र सहसचिव यज्ञप्रसाद भट्टराई सहायक निर्वाचन अधिकृतका रूपमा जिम्मेवारीमा छन्। व्यवस्थापनका लागि कुल ४१ कर्मचारी खटाइनेछ।
निर्वाचन आयुक्त भण्डारीले कानूनअनुसार जातीय, भौगोलिक, लैंगिक तथा अन्य समूहगत समावेशीता सुनिश्चित गर्न राष्ट्रिय तथ्यांक कार्यालयको समन्वयमा सूत्रगत विधिबाट प्रतिनिधि चयन गरिने बताए।
वर्तमान प्रावधान अनुसार प्रतिनिधिसभामा २७५ सदस्य रहने छन्, जसमा १६५ प्रत्यक्ष (पहिलो हुने नै विजयी) र ११० समानुपातिक प्रणालीबाट चयन गरिनेछ। प्रत्यक्ष प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।
आइतबार नै अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हा निर्वाचन आयोग पुगेका थिए, जहाँ उनीहरूले कार्यवाहक प्रमुख आयुक्तसहितका आयुक्तहरूसँग निर्वाचन पूर्व तयारी तथा आवश्यक सरकारी सहयोगबारे छलफल गरेका छन्।
























