काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दिउँसो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्न बैठक बोलाएका छन्।
पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको मिति तय गर्ने विषयले चर्किएको विवाद समाधान गर्न देउवाले स्वयं पहल गरेका हुन्। यसअघि उपसभापति पूर्णबहादुर खड्काले सहमतिको प्रयास गरे पनि निष्कर्षमा पुग्न नसकेपछि देउवाले बैठक आह्वान गरेका हुन्।
बैठक दिउँसो १ बजे देउवाको महाराजगञ्जस्थित निवासमा बस्नेछ। छलफलका लागि नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित अन्य पदाधिकारीहरूलाई समेत बोलाइएको छ।
देउवा स्वयं सक्रिय भएर छलफलमा जुटेपछि महाधिवेशन सम्बन्धी टुंगो लाग्ने अपेक्षा गरिएको छ। सहमति नजुटेकै कारण कांग्रेसका बैठकहरू पछिल्ला दिनहरूमा बारम्बार स्थगित हुँदै आएका छन्।

























