काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गराउने समय आज सकिँदैछ। निर्वाचन आयोगले तय गरेको तालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म दर्ता अवधि निर्धारण भएको थियो। तर, विभिन्न दलहरूले थप समय मागेपछि आयोगले चार दिन अतिरिक्त समय दिएको हो।
गत शुक्रबारसम्म १०८ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन्। आजसम्म दर्ता हुने दलहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सहभागी हुन योग्य हुनेछन्।
२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा ८४ दलले मात्र प्रतिस्पर्धा गरेका थिए। तर, यसपटक दर्ता गराउने दलहरूको संख्या १०८ पुगेको छ, र अझै केही दल थपिन सक्ने आयोगको अनुमान छ, किनकि दर्ताको अन्तिम दिन आजै हो।
जेनजी आन्दोलनपछि मात्र गठन भएका २३ नयाँ दलले आयोगबाट मान्यता पाइसकेका छन् भने १६ दल अझै दर्ता प्रक्रियामा छन्।
हालै दर्ता भएका दलहरूमा माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल, प्रकाश खड्काको नेपाल जनसेवा पार्टी, सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दिपककुमार साहको सर्वोदय पार्टी र सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी लगायत छन्।
त्यसैगरी रमनकुमार श्रेष्ठको जनादेश पार्टी नेपाल, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, श्रृया केसीको नागरिक सेवा पार्टी, अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी र प्रशान्त सिंहको पिपुल फर्स्ट पनि दर्ता भएका छन्।
यसअघि दर्ता भइसकेका दलहरूमा हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीबाट विभाजित राष्ट्रिय जनमुक्ति पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी र कबिर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल रहेका छन्।
त्यस्तै प्रचण्ड–माधव समूहको नेपाली कम्युनिस्ट पार्टी, राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी, रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी तथा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल पनि दर्ता भइसकेका छन्।
अकबर खानको राष्ट्र निर्माण दल नेपाल, सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल र रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल पनि हालै दर्ता भएका दलमा पर्छन्।
दर्ता प्रक्रियामा रहेका दलहरूमा गोपीलाल न्यौपानेको नेपाल लिभरल पार्टी, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी र राजकुमार कक्षपतिको नेकपा (वामपन्थी केन्द्र) छन्।
त्यस्तै सुन्दरराम बोहराको आवाज पार्टी, प्रशान्त आचार्यको नेपाली प्रथम पार्टी, अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल, सन्दीप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, नुमा लिम्बू नेतृत्वको समावेशी समाजवादी पार्टी, टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी, जीवन लिम्बूको एकता नेपाल, किशोरी कार्कीको नवनिर्माण, लक्ष्मीप्रसाद खतिवडाको राष्ट्रिय सनातन पार्टी नेपाल, शरदसिंह यादवको जनअधिकार पार्टी, काजल अधिकारीको न्यू न्यास्नलिस्ट पार्टी र शम्भु पोखरेलको उदार लोकतान्त्रिक पार्टी पनि प्रक्रियामा छन्।

























