काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट २८ केन्द्रीय सदस्यले पार्टी नेतृत्वको अनिर्णयका कारण संस्थागत रूपमा ठूलो क्षति पुगेको निष्कर्ष निकालेका छन्। चुनावपूर्व नै नियमित महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका यी सदस्यहरूको मंगलबार कुपण्डोलमा बैठक बसेको थियो।
बैठकले पार्टीले छिटो निर्णयमा पुग्नुपर्ने मागसहित शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। निर्णय प्रक्रियामा ढिलाइ भएकै कारण कांग्रेस कमजोर देखिएको उनीहरूको आरोप छ ।
केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको अनुसार, नियमित महाधिवेशन पक्षधर समूहमा आजदेखि केन्द्रीय सदस्य उमा रेग्मी पनि थपिएकी छन्।
“पार्टीले आवश्यक निर्णय लिन नसक्दा क्षति बेहोर्नु परेको छ। अब ढिलाइ सह्य छैन, त्यसैले नेतृत्वलाई छिटो निर्णय गर्न आग्रह गर्ने सहमति गरेका छौं,” शेर्पाले अनलाइनखबरसँग भने।
यस समूहले यसअघि सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, डा. शेखर कोइरालासहित विशेष महाधिवेशन पक्षधर नेतासँग भेटेर चुनावअघिको विशेष महाधिवेशनबारे छलफल गर्दै आएको छ।
























