काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएको समूहले नेतृत्वले प्रस्ताव ल्याएको ‘नहुने महाधिवेशन’को कार्यतालिका स्वीकार नगर्ने स्पष्ट अडान सार्वजनिक गरेको छ।
चुनावअघि नियमित महाधिवेशनको तालिका निकालेर सहमति बनाउने प्रयास भइरहे पनि उक्त समूहले त्यसलाई अस्वीकार गरेको हो।
आज एक विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन पक्षधरले पार्टीमा जनताको अपेक्षा अनुसार आमूल रूपान्तरण र नवीकरण आवश्यक भएको महसुस गराएर आफूहरूले विशेष महाधिवेशनको माग अघि सारेको उल्लेख गरेका छन्। करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा उठाएको मागलाई नेतृत्वले बेवास्ता गरेकोमा उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
विज्ञप्तिमा नियमित महाधिवेशनको मिति तोक्न नेतृत्व आनाकानी गरिरहेको, विशेष महाधिवेशनको माग सम्बोधन नगरी केन्द्रीय समितिको बैठक अनावश्यक रूपमा लम्ब्याइरहेको प्रवृत्ति स्वीकार्य नहुने उल्लेख छ।
समूहले स्पष्ट पार्दै भनेको छ, “हामीले माग गरेको महाधिवेशनको केवल कार्यतालिका होइन, महाधिवेशन नै हो। हामीले चुनावअघिको शक्ति–सन्तुलन संरचना होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौँ।”
उनीहरूले पुस २८ लाई आफ्नो अन्तिम म्याद (डेडलाइन)का रूपमा निर्धारण गर्दै त्यसअघिसम्म माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन्।
महाधिवेशनको गाँठो फुकाउन आफूनिकट नेताहरूसँग देउवाको छलफल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको विवाद मिलाउन आफैँ सक्रिय भएका छन्। महाधिवेशनबारे चर्किएको विवाद कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले मिलाउन नसकेपछि देउवा आफैँले छलफल थालेका हुन्।
अहिले देउवासँग उनीनिकटका शीर्ष नेताहरूबिच छलफल जारी रहेको एक नेताले बताए।
देउवासँगको छलफलमा गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला विजय गच्छदार, डा शशांक कोइराला र डा. प्रकाशरण महतलगायत सहभागी छन्।
देउवासँग छलफलमा रहेका नेताहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर महामन्त्रीद्वयले चुनावअघि नियमित नभए विशेष महाधिवेश गर्नुपर्ने अडान लिइराखेका छन्।

























